मुस्ताङमा बाढीले सातवटा पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
मुस्ताङ, २६ असार – उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा आएको अकल्पनीय बाढीले सातवटा पुल बगाउँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीपछि भएको प्रारम्भिक अनुगमनमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडाध्यक्षहरू, प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरू सहभागी थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार बाढीले तीनवटा पक्की पुल, एक फलामे पुल र तीनवटा काठेपुल पूर्ण रूपमा बगाएको छ। यीमध्ये लोमान्थाङ–४ चुम्जुङस्थित छुआमा खोलाले आर्का–भार्सा जोड्ने पक्की मोटरेबल पुलसमेत समेटिएको छ। यद्यपि, बाढीबाट कुनै मानवीय वा पशुचौपायामा क्षति नभएको जनाइएको छ।
अध्यक्ष गुरुङले बाढीले गाउँपालिकाको रिङरोड र अन्य शाखा सडकहरूमा सवारी आवागमन प्रभावित बनाएको बताए। बाढीका कारण सवारीसाधन चल्न नसक्ने अवस्था आएको छ। उक्त क्षेत्रमा वर्षा नभएको भए पनि बाढी आएको पुष्टि भएको छ। यसले हिमताल फुटेका कारण बाढी आएको हुनसक्ने अनुमानलाई बल दिएको छ। अध्यक्ष गुरुङका अनुसार, बाढीको समयमा न त स्थानीय क्षेत्र न त मुहानको लेकमै पानी परेको थियो।
“हाम्रो अनुमान छ, माथिल्लो लेकमा रहेको हिमताल फुटेका कारण बाढी आएको हो,” उहाँले बताए। सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढीको स्रोत पत्ता लगाउन टोली पठाइएको र त्यस क्षेत्रका यार्सा सङ्कलनकर्ताले पनि त्यहाँ हिमताल रहेको जानकारी गराएको बताए।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङमा रहेका दर्जनौँ हिमताल जलवायु परिवर्तनका कारण जोखिममा परिरहेको बताउँदै जमिनको तापमान बढ्नाले हिउँका ठूला भागहरू खस्ने सम्भावना बढेको जानकारी दिए।

