केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप

काठमाडौं, २० भदौ – केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ। सोमबार दिउँसो नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियममा भएको अन्तिम एकदिवसीय खेलमा घरेलु केन्यालाई ६ विकेटले पराजित गरेर नेपालले सिरिज ३-० ले क्लिन स्विप गरेको हो।

यसअघि नेपालले पाँच खेलको टी-ट्वान्टी सिरिज पनि जितिसकेको छ। उक्त सिरिज पनि नेपालले ३-२ ले जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेर केन्याले ९ विकेट गुमाउँदै पूरै ओभर खेल्दै नेपाललाई २५६ रनको चुनौती दिएको थियो।

त्यसपछि २५६ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभर बलमा ४ विकेट गुमाउँदै २५८ रन बनायो। नेपाललाई सिरिज क्लिन स्विप गराउने क्रममा वसिर अहमदले ५२, अर्जुन साउदले ५८ र आसिफ शेख ५६ रनको अर्धशतकीय पारी खेले।

अन्तिम क्रमका कप्तान रोहित पौडेलले ४६ बलमा ४६ रनको पारी खेले। त्यस्तै ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए। पराजित केन्याका भिराज पटेलले २ विकेट लिए। शेम एनगोचे र याश तालातीले समान १-१ विकेट लिन सफल भए।

घरेलु भूमिमा दुवै सिरिज गुमाएको केन्याका लागि मध्य स्कोर खडा गर्ने क्रममा कोलिन्स अबुयाले ८४ रन बनाए। त्यसैगरी लुकास एनडानडासनको नाममा अविजित ५९ रन रह्यो। अर्कातिर सुखदीप सिंहले ३७ रन इम्यानुएल बुन्डीले २३ रन जोडे। केन्याका कप्तान शेम एनगोचे १७ रनमै पेभेलियन फर्किए।

नेपाललाई जिताउने क्रममा सोमपाल कामी र आदील अन्सारीको नाममा समान २-२ विकेट रह्यो। त्यस्तै शाहब आलम र वसिर अहमदले १-१ विकेट झारे।

Facebook Comments Box