उपल्लो मुस्ताङमा भीषण बाढी, तटीय बस्तीहरूलाई सतर्क रहन आग्रह
मुस्ताङ, २४ असार – उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट भीषण लेदोसहितको बाढी आएको छ।गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार आज साँझ ५ बजेदेखि चुमजुङ क्षेत्रको उच्च लेकबाट आएको बाढीले चारभन्दा बढी अस्थायी पुल र कल्भर्ट बगाएको छ।
“बाढी अझै पनि आइरहेको छ, क्षतिको सम्भावना उच्च छ,” अध्यक्ष गुरुङले बताए। “हामी बाढीको प्रवाह नजिकैबाट नियालिरहेका छौँ र तल्लो मुस्ताङका कालीगण्डकी किनारका बस्तीहरूलाई सर्तक रहन आग्रह गरिसकेका छौँ।”
बाढीका बारेमा प्रहरी प्रशासनलाई जानकारी गराइसकिएको जनाउँदै उनले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सतर्कता अपनाउन अपिल गरेका छन्।
चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती क्षेत्रमा पर्ने उच्च पहाडी बस्ती हो, जहाँबाट अकल्पनीय रूपमा लेदोसहितको बाढी सुरु भएको अध्यक्ष गुरुङले बताए।

