जापानमा अहिलेसम्मकै सबैभन्दा ठूलो तुफानको सामना, ९० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन
काठमाडौँ, ४ असोज – जापान अहिलेसम्मकै सबैभन्दा ठूलो तुफानको सामना गरिरहेको छ। तुफानको जोखिमलाई ध्यानमा राख्दै त्यहाँका ९० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। नानमाडोल तुफानको कारण अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ भने करिब ९० लाख मानिस घाइते भएका छन्।
आइतबार यो तुफान जापानको सबैभन्दा दक्षिणी क्षेत्रमा रहेको क्युशु टापुमा ठोक्किएको थियो। मौसमविदका अनुसार या तुफान आगामी केही दिनमा जापानको प्रमुख टापु होंशु भएर जानेछ। तुफानको जोखिमलाई ध्यानमा राख्दै हजारौं मानिसले आइतबारको रात राहत शिविरमा बिताएका थिए। करिब साढे तीन लाख घरमा विद्युत् अवरुद्ध भएको छ।
जापानमा अहिले यातायात तथा व्यवसाय नराम्रोसँग प्रभावित भएको छ। यो तुफानको कारण जापानमा ठूलो बाढी र पहिरोको पनि जोखिम बढेको छ। नानमाडोलको कारण २३४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ भने केही क्षेत्रमा २४ घण्टामा ४०० मिलिमिटरसम्मको वर्षाको आशंका गरिएको छ।

