रसुवामा बाढीले ठूलो क्षति, ७ जनाको मृत्यु, २० बेपत्ता

रसुवा, २४ असार – अविरल वर्षापछि आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हराइरहेका व्यक्तिहरूमा ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। उद्धार कार्य जारी रहँदा हालसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ।

सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका–१ मा भएको छ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने ईभी चार्जिङ स्टेशन पूर्ण रूपमा ध्वस्त भएको छ। भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी हाइड्रोपावरको ड्यामसमेत क्षतिग्रस्त बनेको छ।

त्यस्तै, गोसाइँकुण्ड–पासाङल्हामु सडकखण्ड चर्किँदा धुन्चेदेखि टिमुरेसम्मको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरी, सशस्त्र, नेपाली सेना, स्थानीय तह र अन्य निकायहरूले समन्वयमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।

Facebook Comments Box