स्वास्थ्य सेवा बन्द नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, २४ असार – राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ नागरिकको जीवन जोखिममा पर्ने भन्दै सेवा तत्काल सञ्चालन गर्न आग्रह गरेको छ। आयोगले स्वास्थ्य पेशाका कर्मीहरूलाई जिम्मेवार र मर्यादित रहँदै सेवा बहाल गर्न अपिल गरेको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा हाल देखिएको स्वास्थ्य क्षेत्रको अन्योललाई सार्थक संवादमार्फत समाधान गर्न र उपभोक्ता अदालतको फैसलाप्रति असहमत भए कानुनी बाटो अपनाउन सुझाव दिइएको छ।

नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सकहरूले उपभोक्ता अदालतको निर्णयविरुद्ध सोमबारदेखि आकस्मिक र सघन कक्षबाहेकका सेवा बन्द गरिरहँदा सर्वसाधारण नागरिक स्वास्थ्य अधिकारबाट वञ्चित भएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ।

“स्वास्थ्य सेवा बन्द गर्नु संविधान र अन्तर्राष्ट्रिय सन्धीविपरीत हो,” विज्ञप्तिमा भनिएको छ। संविधानको धारा ३५ अनुसार नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको छ।

त्यसैगरी, धारा ४४ मा उपभोक्ताको हक र अन्तर्राष्ट्रिय महासन्धिहरूले प्रत्याभूत गरेका सामाजिक अधिकारहरूको उल्लङ्घन भएको आयोगले जनाएको छ।

आयोगले स्वास्थ्य सेवा तत्काल पुनः सञ्चालन गरी आमनागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार, नेपाल चिकित्सक सङ्घ तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।

Facebook Comments Box