जोखिममा बेँसीसहर–चामे सडकयात्रा
लमजुङ, २२ असार – माथि हेर्दा आकाश छुनेजस्तो अग्ला चट्टाने पहरा, तल मस्र्याङ्दी नदीको छङ्गाछुर खोँच — त्यहीँको बीचबाट चट्टान खोपेर बनाइएको साँघुरो सडक हुँदै हिमालपारिको जिल्ला मनाङ पुग्ने बेँसीसहर–चामे सडक अहिले गम्भीर जोखिमको पर्याय बनेको छ।
डोजर र एक्साभेटरको सहज पहुँच नहुँदा, अतीतमा घन, छिनो र सावेलले ठूलो परिश्रमका साथ बनाइएको यो सडक अहिले दैनिक सयौँ यात्रुले जोखिम मोल्दै प्रयोग गरिरहेका छन्। सडक साँघुरो, कच्ची र अव्यवस्थित छ। हाल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्न थालेपछि यात्रा अझ जोखिमपूर्ण बनेको छ।
मनाङबाट लमजुङ हुँदै बाहिरी क्षेत्र जान र फर्कन एकमात्र सडक यही हो। भिरैभिर र मस्र्याङ्दी नदीको धारमाथि बनेको ढुंगै–ढुंगाको यो सडक व्यवस्थित नहुँदा यात्रा त्रासदीपूर्ण बन्ने गरेको छ। बेँसीसहरदेखि चामेसम्मको ६५ किलोमिटर दूरी खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे, तालबजार र तिमाङ हुँदै तय गर्न करीब ६ घण्टा लाग्छ।
स्थानीय बासिन्दा सोमबहादुर गुरुङ भन्छन्, “चट्टाने भिर काटेर बनाइएको सडक साँघुरो छ, मोडहरू साँघुरा छन्, ग्रेडिङ नमिलेकाले सधैँ डर भइरहन्छ।” जीप चालक सोमराज मगराती भन्छन्, “पहिलाभन्दा बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ भन्न सकिँदैन।” अर्का चालक रामबहादुर तामाङ थप्छन्, “सडकबाट गाडी खस्यो भने सीधा मस्र्याङ्दीमा पुग्छ, बाँच्ने सम्भावना हुँदैन।”
यात्राका क्रममा अधिकांश यात्रु सडकको अवस्था देखेर त्रसित हुन्छन्। कहिले–काहीँ जीप गुड्दागुड्दै माथिबाट ढुङ्गा र पहिरो खस्ने घटना पनि हुने गर्छ। विशेषतः बर्खायाममा अवस्था भयावह बन्ने गरेको छ। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार, “पर्याप्त बजेट अभावकै कारण सडक स्तरोन्नति हुन सकेको छैन।”
चालु आर्थिक वर्षमा सडकका लागि रु ३६ करोड बजेट विनियोजन गरिएको थियो भने आगामी वर्षका लागि रु ४० करोडको प्रारम्भिक बजेट प्रस्ताव गरिएको छ। पहिरोले बारम्बार सडक अवरुद्ध बनाउँदा मनाङवासी अत्यन्त समस्यामा पर्नु परेको छ। लामो समयसम्म सडक बन्द हुँदा हेलिकप्टर प्रयोगबाहेक विकल्प रहँदैन।
सरकारको योजना अनुसार, २०५१ सालमा सडक डिभिजन कार्यालय दमौलीले सडक निर्माण सुरु गरेको थियो। तर, प्राविधिक र भौगोलिक कठिनाइका कारण २०५७ सालदेखि नेपाली सेनाले निर्माणको जिम्मा लिएको थियो। जोखिमपूर्ण भिर र कठिन परिस्थितिका बीच सेनाले सडक निर्माण सफलतापूर्वक सम्पन्न गरे पनि, त्यही क्रममा केहीको ज्यानसमेत गएको थियो।
२०६९ सालमा नेपाली सेनाको कार्यगणले निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रिवर गुरुङको नेतृत्वमा यो कार्य सम्पन्न भएको हो। सडक स्तरोन्नति नहुँदा मनाङवासी मात्र होइन, लमजुङवासी, पर्यटक र सबै यात्रु चिन्तित छन्। बारम्बारको अवरोध, दुर्घटनाको डर र यात्रु हैरानीबीच एउटै माग छ — “सडक गुणस्तरीय र सुरक्षित बनोस्।”

