संसदीय समितिका नौ बैठक आज बस्दै

काठमाडौँ, २२ असार – सङ्घीय संसदका विभिन्न नौ संसदीय समितिका बैठकहरू आज बस्दै छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका समितिहरूले आ–आफ्ना कार्यसूचीअनुसार बैठक बोलाएका हुन्। प्रतिनिधिसभातर्फ आज बस्ने समितिमा अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन्।

त्यस्तै, राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संयुक्त समिति स्वरूप रहेको संसदीय सुनुवाइ समितिको बैठकसमेत आजका लागि निर्धारण गरिएको छ। अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ।

अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा संशोधनकर्ताहरूसँग छलफल गरिने कार्यसूची छ। उद्योग तथा वाणिज्य समितिले सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण गरिएको कोटा विषयमा छलफल गर्नेछ।

कृषि तथा सहकारी समितिमा आगामी कार्यक्रम तथा समसामयिक विषयहरूमा छलफल गरिनेछ। पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी–मरिण डाइभर्सन आयोजना र अन्य विविध विषयमा छलफल हुने कार्यसूची छ।

शिक्षा समितिले विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ। सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ।
संसदीय सुनुवाइ समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनुवाइका लागि सिफारिस गरिएका व्यक्तिहरू सम्बन्धमा छलफल गर्नेछ।

प्रतिनिधिसभाको बैठक यही असार २३ गते सोमबार र राष्ट्रियसभाको बैठक असार २४ गते मंगलबारका लागि तय भएकाले आजको बैठकमा महत्त्वपूर्ण विधेयकहरूलाई अघि बढाउने तयारी गरिएको संसद सचिवालयले जनाएको छ।

Facebook Comments Box