पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ, २१ असार – हिमशृङ्खलाको काखमा अवस्थित बुकीपाटनको हरियाली डाँडामा छरिएर चर्दै गरेका सेताम्मे भेडाका बथान जुनसुकै पर्यटकको मन लोभ्याउँछ। बाँसका चित्रा र प्लास्टिकका त्रिपालले छेकिएका अस्थायी गोठहरूमा जीवन यापन गरिरहेका गोठालाहरूको जीवनशैली, उनीहरूसँगै रमाइरहेका भेडाका पाठापाठीहरूले यहाँको लेकाली जनजीवनलाई जस्ताको तस्तै प्रस्तुत गर्छ।

पछिल्ला वर्षहरूमा बुकीपाटन घुम्न आउने पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। हजारौँ भेडा र सयौँ गोठालाको बासस्थान बनेको यो क्षेत्र अब गोठालाको मात्र नभई पर्यटकको पनि गन्तव्य बन्दै गएको छ।

हरियाली चौर र त्यहाँ चर्दै गरेका भेडाका बथानले बुकीपाटनको सौन्दर्य झनै बढाएका छन्। केही वर्षअघिसम्म भेडी गोठालाहरूको मात्रै बास भएको यो क्षेत्र अहिले प्राकृतिक सौन्दर्य खोज्नेहरूका लागि प्रिय गन्तव्य बनेको छ।

यद्यपि बुकीपाटन पुग्न सजिलो छैन। उच्च पहाडी भू–भागका कारण यहाँ पुग्दा लेक लाग्ने सम्भावना पनि रहन्छ। अझैसम्म सडक सञ्जाल नपुगेको यो ठाउँमा अघिसम्म गोरेटो बाटो प्रयोग गरिन्थ्यो भने हाल पदमार्ग निर्माण भइसकेको छ। पत्रकार र पर्यटकले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरेसँगै यहाँको दृश्यावली अझ बढी सार्वजनिक भएको छ।

नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन हाल पर्यटक आकर्षणको केन्द्र बनेको छ। ढोरपाटनको पाखाथरबाट करिब पाँच घण्टा पैदल हिँडेर पुगिने गर्पाछेडाबाट नै बुकीपाटनको सुरुआत हुन्छ, जहाँ हजारौँ भेडाका बथान देख्न सकिन्छ। ढोरपाटनका गोठाला भक्त अदैका अनुसार यहाँ आउने पर्यटक विशेषगरी भेडा, गोठ र गोठालाको जीवनशैलीमा आकर्षित हुन्छन्।

अदै भन्छन्, “हामी बाध्यताले गोठ बस्छौँ, तर अब मानिसहरू रहरले आउँछन्। पहिले हामी मात्रै हुन्थ्यौँ, अहिले हिउँदसम्म पनि पर्यटक आउँछन्। उनीहरू हाम्रो भेडा, खाना, बास र जीवनशैलीमा ठूलो चासो राख्छन्।” केही त पर्यटक यहाँ दुई–तीन दिन बसेर पनि जान्छन्।

बुकीपाटन क्षेत्रभित्र दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै चौरहरू पर्दछन्। असारदेखि कात्तिकसम्म यहाँ बागलुङ, रुकुम, डोल्पा, म्याग्दी लगायतका जिल्लाबाट सयौँ गोठालाहरू भेडाबाख्रा, गाईभैँसीसहित आइ गोठ बस्छन्। एउटै गोठालासँग पाँच हजारसम्म भेडा हुने भएकाले सिङ्गो पहाड नै भेडाले ढाकिएको दृश्य देखिन्छ।

रोल्पाको सुनछहारीबाट आएका गोठाला पुनराम घर्तीमगर ४० वर्षदेखि यहाँ आइरहेको बताउँछन्। “पहिला कोही पनि घुम्न आउँदैनथ्यो, अहिले पर्यटकको संख्या निकै बढेको छ,” घर्तीमगरले सुनाए।

उनले हाल झण्डै एक हजार ७०० भेडा पालिरहेका छन्। पर्यटकहरू भेडाको बथान, गोठालाको पोशाक, खाना र बासस्थान हेरेर चकित हुने गरेको उनी बताउँछन्।

“बुकीपाटन हामी गोठालाको लागि घाँसको भण्डार हो। यहाँको पोषिलो घाँसले भेडा सप्रिन्छन्। अब त पर्यटक पनि आउँछन्, भिडियो बनाउँछन्, हामीसँग अनेक कुरा सोध्छन् तर हामीसँग मोबाइल छैन, हेर्न पाउँदैनौँ,” घर्तीमगरले थपे।

समुद्री सतहदेखि ४,५०० मिटरको उचाइसम्म फैलिएको बुकीपाटन हरेक बर्खामा गोठालाको अस्थायी वासस्थान बन्छ। कात्तिक पछि चिसो बढ्ने भएकाले उनीहरू बँेसी झर्छन्।

भैरहवा निवासी पर्यटक प्रकाश ज्ञवाली पहिलोपटक बुकीपाटन पुगेका थिए। ढोरपाटन घुम्न गएका उनी होटल सञ्चालकको सुझावमा बुकीपाटन पुगेका थिए। “जीवनमा यति धेरै भेडा एउटै ठाउँमा चर्दै गरेको पहिलोपटक देखेँ।

यो मेरो जीवनकै अविस्मरणीय क्षण हो,” उनले भने। “यहाँका गोठाला सहयोगी छन्, भेडा र गोठहरूको दृश्य मन छुने खालको छ। अर्कोपटक धेरै दिन बसेर घुम्ने योजनासहित आउने छु।”

बुकीपाटन अब केवल भेडीगोठालाको गन्तव्य मात्र नभई, पर्यटकका लागि पनि अवलोकन, अनुभव र रमाइलोको थलो बन्दै गएको छ। प्राकृतिक सौन्दर्य र मौलिक जनजीवनको संगम यसले गर्दा यहाँको पर्यटन सम्भावना झनै उज्यालो देखिन्छ।

Facebook Comments Box