नालाको पुरानो पुल भाँचिँदा राजधानी जाने वैकल्पिक सडक पूर्णतः अवरुद्ध

काभ्रेपलाञ्चोक, २१ असार – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ र ४ को सीमास्थित नालामा रहेको पुल भाँचिएपछि राजधानी काठमाडौँ जाने वैकल्पिक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

विसं २०३७ मा निर्माण गरिएको उक्त पुल आज बिहान सबेरै मालबाहक सवारीसाधन पार गरेलगत्तै भाँचिएको स्थानीय शान्तलाल श्रेष्ठले जानकारी दिनुभयो। ४५ वर्ष पुरानो पुल भाँचिँदा बनेपा–नाला–च्यामासिङ सडकखण्ड भएर चल्ने सवारी आवागमन ठप्प भएको हो।

उक्त सडक भक्तपुरको च्यामासिङ हुँदै काभ्रेको नाला जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। विशेषतः अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्डमा दुई वर्षदेखि भइरहेको स्तरोन्नति कार्यका कारण अधिकांश सवारी यही वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए।

तर अहिले पुल भाँचिएपछि राजधानीबाट मध्यपूर्वतर्फ जाने र आउने सबै सवारी रोकिएको छ। बनेपाबाट काठमाडौंतर्फ जान खोज्ने सवारीलाई पनि रोकिएको जिल्ला ट्राफिक कार्यालय, बनेपाले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूका अनुसार पुल भाँचिएपछि सडक पूर्णरूपमा बन्द गरिएको छ भने सडक विभाग र स्थानीय तहसँग समन्वय गरी सडक अस्थायी रूपमा सञ्चालन गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो।

Facebook Comments Box