नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

काठमाडौँ, ९ असार – नेपालमा कोरोना भाइरसको ओमिक्रोन प्रकारका ५ वटा नयाँ सब-भेरिएन्ट पत्ता लागेका छन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङ परीक्षणबाट यी नयाँ भेरिएन्टहरू पुष्टि भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म संकलन गरिएका १४ वटा कोरोना संक्रमितको नमुनामा परीक्षण गर्दा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट देखिएको हो। ती सबै नमुना विभिन्न सातवटै प्रदेशबाट संकलन गरिएका थिए।

परीक्षणबाट सात वटा XFG, तीन वटा XFG, एउटा XFG 3.1 र दुई वटा JN.1 सब-भेरिएन्ट पुष्टि भएका छन्। डा. बुढाथोकीका अनुसार यि भेरिएन्टहरू सङ्क्रामक भए पनि कम घातक मानिन्छन्।

विशेषज्ञहरूका अनुसार कोरोना भाइरसको ओमिक्रोन प्रकारमा समयअनुसार अनुवांशिक परिवर्तन (म्युटेसन) भइरहन्छ, जसले नयाँ सब-भेरिएन्ट जन्माउँछ। ती भेरिएन्टहरूले अलग-अलग लक्षण र सङ्क्रमणको प्रकृति देखाउने गरेका छन्।

पुस महिनादेखि हालसम्म देशका २५ जिल्लामा कोरोना संक्रमण देखिएको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १६७ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी बागमती प्रदेशमा १३१ जना, सुदूरपश्चिममा २१ जना, मधेसमा ५, कोशीमा ४ र गण्डकी प्रदेशमा ३ जनामा संक्रमण देखिएको छ।

Facebook Comments Box