देशभर मनसुनी प्रभाव : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ९ असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाद्वारा आज बिहान जारी बुलेटिनअनुसार, देशका पहाडी भूभागको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र कतिपय स्थानमा धेरै भारी वर्षाको सम्भावना समेत रहेकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

