त्रिभुवन विश्वविद्यालयका १० सेवा अब अनलाइनमार्फत
काठमाडौँ, ६ असार – त्रिभुवन विश्वविद्यालयले अब विद्यार्थीहरूलाई आवश्यक पर्ने १० प्रकारका शैक्षिक सेवा अनलाइनमार्फतै उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै असार १५ गतेदेखि लागू हुनेगरी नयाँ अनलाइन सेवा सुरु हुने जानकारी दिएको हो।
विज्ञप्तिअनुसार, अनलाइन भुक्तानीसहितको प्रणाली सफल परीक्षण भइसकेको र विद्यार्थीहरूले आफ्नै अनलाइन पटल प्रयोग गरेर निम्न सेवा घरमै बसेर पाउन सक्नेछन्:
-
रजिष्ट्रेसन आवेदन फाराम
-
परीक्षा आवेदन फाराम
-
ट्रान्सक्रिप्ट आवेदन फाराम
-
प्रोभिजनल सर्टिफिकेट
-
मूल प्रमाणपत्र
-
पूर्नयोगका लागि आवेदन फाराम
-
नाम/थर/रजिष्ट्रेसन विवरण सच्याउने फाराम
-
विभिन्न सिफारिस पत्र
-
प्रमाणपत्र प्रमाणीकरण
-
ट्रान्सक्रिप्ट तथा मार्कसिट प्रतिलिपि
वार्षिक करिब ५ लाख विद्यार्थीलाई यस्ता सेवा उपलब्ध गराउँदै आएको त्रिविले अब यसलाई डिजिटलरूपमा पुर्याउने तयारी गरेको हो।
परीक्षा प्रणालीलाई शैक्षिक क्यालेण्डरअनुसार व्यवस्थित गर्दै त्रिविले समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने कार्यमा सुधार आएको पनि उल्लेख गरिएको छ। यसबाट विद्यार्थीहरूलाई समय, श्रम र खर्च तीनैको बचत हुने अपेक्षा गरिएको छ।

