बीपी राजमार्गमा राति यात्रुवाहक सवारी १५ दिनका लागि रोक

काठमाडौं, ६ असार – लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रातिको समयमा यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुलीको खुर्कोटमा शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले सो निर्णय गरेको हो।निर्णयअनुसार भोलिदेखि आगामी १५ दिनसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारी चलाउन पूर्ण प्रतिबन्ध लगाइनेछ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, सुरक्षाका दृष्टिले काभ्रे भञ्ज्याङदेखि खुर्कोटसम्मको सडक खण्ड बढी जोखिमपूर्ण भएकाले यो निर्णय गरिएको हो।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आजै संयुक्त विज्ञप्ति जारी गरी निर्णयबारे जानकारी दिने तयारी गरेका छन्। सुरक्षा निकायका प्रमुखहरूका अनुसार, अन्तरजिल्ला समन्वय र सहकार्यका माध्यमबाट यात्रुलाई सुरक्षित र व्यवस्थित बनाइनेछ।

Facebook Comments Box