सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ, ५ असार – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि निर्धारण गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
छलफल वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहीकृत रूपमा हुनेछ। खर्च कटौतीका प्रस्तावहरू पनि पेस हुनेछन्।
यसै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ। यता, ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सदनमा अवरोध जारी राख्ने संकेत दिएका छन्।
उता राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरूको जवाफ दिने सम्भावना रहेको छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ। आजको बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्री र संविधानसभा सदस्य वीरेन्द्र जुहारचनको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूची रहेको छ।