झोलुङ्गे पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज
दाङ, ५ असार – दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डीलाई जोड्ने घोसखोलामा झोलुङ्गे पुल बनेपछि विद्यार्थीलाई विद्यालय आवतजावत गर्न सहज भएको छ। खोलामा पानीको बहाव बढ्दा विशेषगरी वर्षायाममा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएकोमा अब भने नियमित रूपमा विद्यालय जान सकिने अवस्था बनेको छ। देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थीहरू विगतमा पानी परेपछि घरमै बस्न बाध्य हुने गरेका थिए।
कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन्, “खोला तर्न नसक्दा पढाइ छुट्थ्यो, अब पुल बनेपछि ढुक्क भएर विद्यालय जान पाएको छु।” सोही कक्षाका भीमबहादुर गाहा मगरले वर्षामा पनि पढ्न जान सहज भएको अनुभव सुनाए।पुल बनेपछि विद्यार्थी मात्र होइन, स्थानीयवासीको दैनन्दिन आवागमन पनि सजिलो भएको छ। करिब १९५ घरधुरी रहेको सो क्षेत्रमा बिरामी परेका बेला पनि बाढीले बाटो छेकेको अवस्था अब दोहोरिने छैन भन्ने विश्वास गरिएको छ।
राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीका अनुसार अघिल्लो वर्षहरूमा खोलाले बाटो छेकेर जनजीवन प्रभावित हुँदै आएको थियो। अब भने ११२ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ। सङ्घीय सरकारबाट ४३ लाख ४८ हजार, राप्ती गाउँपालिकाबाट १८ लाख र स्थानीयवासीको एक लाख २५ हजार बराबरको श्रमदानबाट पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।