हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच घाइते

हुम्ला, ४ असार — हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउसेमा माटोको ढिस्कोले पुरिँदा एक युवतीको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन्। शनिबार निर्माणाधीन सडकमा ग्याबिन भरिने उद्देश्यले खनिएको जगमा अचानक माथिबाट ठूलो माटोको ढिस्को खस्दा दुर्घटना भएको हो।

उक्त घटनामा गम्भीर घाइते भएकी २३ वर्षीया सुवित्रा विकको जिल्ला अस्पताल सिमकोटमा उपचारका क्रममा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका पाँचजनाको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ की २२ वर्षीया शर्मिला विक, ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्।

Facebook Comments Box