विराटनगरका एमाले उम्मेदवार कार्कीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, २९ वैशाख – नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार शिल्पा कार्कीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले कार्कीविरुद्ध विराटनगरमा उपमेयरका अर्का उम्मेदवार अमरेन्द्र यादवले हालेको रिटमा अन्तरिम आदेश दिनुनपर्ने निर्णय लिएको हो।

बुधबार कार्कीविरुद्धको रिट हेर्न नमिल्नेमा परेको थियो। तर बिहीबार ढुंगाना र श्रेष्ठको इजलासमा पेशी तोकिएपछि भएको सुनुवाइका क्रममा अन्तरिम आदेश दिन नपर्ने निर्णय आएसँगै कार्कीलाई सजिलो भएको छ।

अदालतको यो निर्णयसँगै शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उपमेयरकी उम्मेदवार कार्की सुरक्षित भएकी छन्। विराटनगर महानगरको उपप्रमुखमा जनता समाजवादीबाट उठेका अमरेन्द्र यादवले कार्कीको उम्मेदवारी खारेज हुनुपर्ने जिकिर गरेका थिए।

यादवले कार्कीविरुद्ध विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवार बनेको भन्दै रिट हालेका थिए।

यादवले चुनावमा उड्न कार्कीले कार्कीले कीर्ते राजीनामा बुझाएको आरोप लगाएका थिए। किर्ते राजीनामालाई विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वीकार गरी उम्मेदवारी सदर गरेको आरोप यादवले लगाएका थिए।

Facebook Comments Box