सन्ध्याकालीन सेवा सुरु भएपछि जावलाखेल चिडियाखानामा पर्यटकको भीड बढ्यो
काठमाडौं, ३ असार – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा साँझ ७ बजेसम्म सेवा सुरु भएपछि अवलोकनकर्ताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। चिडियाखानाले गत वैशाख १ गतेदेखि सन्ध्याकालीन सेवा सुरु गरेसँगै जनचासो बढेको हो।
चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जना पर्यटकले चिडियाखाना अवलोकन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिमा ८४ हजार ३३६ थियो। यो अवधिमा १४ हजार ८८३ जनाको वृद्धि भएको र करिब २५ लाख रुपैयाँ बढी आम्दानी भएको व्यवस्थापनले जनाएको छ।
प्रवेश शुल्कबाटै चिडियाखानाले कर्मचारीको तलब, जनावरको आहार तथा अन्य व्यवस्थापन खर्च जुटाउँदै आएको छ। हाल चिडियाखानामा ७० जना कर्मचारी कार्यरत छन् भने दैनिक झन्डै २ हजार पर्यटक आउने गरेका छन्। नेपाली वयस्कका लागि प्रवेश शुल्क रु २०० तोकिएको छ भने विदेशीका लागि रु १,००० कायम गरिएको छ।
हालै मिर्गौला फेल भएर चिडियाखानामा रहेको एक मात्र रेडपान्डाको निधन भएको छ। २०७२ सालमा ल्याइएको उक्त रेडपान्डा चिडियाखानाको प्रमुख आकर्षणमध्ये एक थियो। अब चिडियाखानाले नयाँ रेडपान्डा ल्याउनका लागि प्रक्रिया अघि बढाइसकेको छ।
त्यसैगरी, चिडियाखानामा बाघको व्यवस्थापनमा पनि कठिनाइ देखिएको छ। हाल पाँचवटा वयस्क पाटेबाघ छन् तर खोरको अभावले सबै बाघलाई एकैसाथ प्रदर्शन गर्न नसकिने अवस्था छ।
व्यवस्थापनले दुई जोडी बाघलाई पालैपालो प्रदर्शनमा राख्ने र बाँकी एकलाई ‘होल्डिङ’मा राख्ने व्यवस्था गरेको छ। दुई भाले बाघलाई सँगै राख्दा आपसी लडाइँको जोखिम हुने भएकाले यस्तो व्यवस्था मिलाइएको हो।
विश्व वातावरण दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जबाट थप एक जोडी गैँडा ल्याइएकाले चिडियाखानामा अब तीनवटा गैँडा भएका छन्। हात्ती, भालु, चिम्पाञ्जी, घडियाल गोही, हिप्पोपोटामसलगायत दुर्लभ प्रजातिसमेत चिडियाखानामा राखिएको छ।
विसं १९८९ मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले निजीरूपमा स्थापना गरेको चिडियाखाना २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको हो। २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत व्यवस्थापन हुँदै आएको चिडियाखानाको जिम्मा हालै फेरि ३० वर्षका लागि कोषलाई दिइएको छ। करिब ६ हेक्टरमा फैलिएको चिडियाखानामा हाल ११७ प्रजातिका करिब १,३०० वन्यजन्तु र चराचुरुङ्गी रहेका छन्।

