‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री

काठमाडौँ, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताउनुभयो ।

उहाँले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो ।

“त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छाै । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ ।

यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन ।

हामी सिने क्षेत्रप्रति सधँै सकारात्मक र सहयोगी छौँ ।” बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सो अवसरमा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभयो ।

उहाँले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको स्पष्ट गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box