तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा आगजनी र तोडफोडले दुःख लागेको छ : पूर्वराजा शाह
काठमाडौं, ३१ चैत – पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र मानवीय एवं भौतिक क्षतिबाट आफूलाई दुःख लागेको बताएका छन् । राजतन्त्र पुनस्थापना र हिन्दूराज्य लगायतका माग गर्दै भएको सो प्रदर्शनले उग्र रुप लिँदा दुई जनाको ज्यान गएको थियो ।
सोही प्रदर्शनमा विभिन्न निजी तथा सार्वजनिक सम्पतिमा क्षति पुगेको थियो भने दर्जनौं घाइते भएका थिए । उक्त घटनाबारे पूर्वराजा शाहलाई जिम्मेवार बनाउनुपर्ने माग उठिरहेका बेला आइतबार नयाँ वर्षको शुभकामना दिने क्रममा शाहले आफूलाई दुःख लागेको बताएका हुन् ।
‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शाहले आफ्नो सन्देशमा भनेका छन् ।

