मधेशका जिल्लामा पुरानै व्यथिति परीक्षा सुरु भएको एक घण्टामै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो
जनकपुरधाम, ७ चैत – एसईई परीक्षाको पहिलो दिन नै मधेशका जिल्लामा पुरानै व्यथिति दोहोरिएको छ । एसईईको पहिलो दिन बिहीबार परीक्षा सुरु भएको एक घण्टामै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो । केही जिल्लाका केही परीक्षा केन्द्रमा खुल्लमखुला चिट चोरी भएका तस्वीर तथा भिडियो समाजिक सञ्जालबाट सार्वजनिक भए ।
प्रश्नपत्र बाहिरिएको विषयमा भने फरक-फरक सूचना आइरहेका छन् । कतिपयले जनकपुर त कतिपयले सिरहा जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको दाबी गरिरहेका छन्।
जनकपुरमा मर्यादित रुपमा परीक्षा सञ्चालन भइरहेकोले प्रश्नपत्र धनुषाका कुनै पनि केन्द्रबाट आउट नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
‘हामीले युनिट बनाएर सबै परीक्षाकेन्द्रमा अनुगमन गर्यौं । मर्यादित र व्यवस्थित रुपमा परीक्षा सञ्चालन भयो । धनुषाका कुनै पनि केन्द्रबाट प्रश्नपत्र आउट भएको छैन,’ उनले भने ।
एक घण्टापछि परीक्षार्थी उत्तरपुस्तिका बुझाएर परीक्षाबाट निस्किन सक्ने भएकाले त्यसरी कतैबाट आउट भएको हुनसक्ने उनको आशंका छ । यद्यपि, यस विषयमा गृह मन्त्रालयमा औपचारिक जानकारी गराइसकेको प्रजिअ कडरियाले बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि सिरहाबाट प्रश्नपत्र आउट भएको कुरा अहिलेसम्म पुष्टि नभएको बताए । ‘सिरहाबाट प्रश्नपत्र आउट भयो भन्ने मैले पनि सुनेको छु ।
अन्यत्र जिल्लाबाट आउट भएको भन्ने पनि सुनें । कहाँबाट आउट भयो भन्ने अहिलेसम्म खुलेको छैन । सिरहामा सम्पूर्ण मेकानिजम हामीले प्रयोग गरेका छौं । त्यसकारण प्रश्नपत्र सिरहाबाट आउट भएको होइन,’ उनले भने ।
प्रविधिको युगमा देशका कुनै पनि ठाउँबाट प्रश्नपत्र आउट गरेर अन्यत्र ठाउँको हो भन्ने आरोप पनि लगाउन सकिने उनको भनाइ छ । यद्यपि, यस विषयमा बुझ्ने काम गरिरहेको उनको भनाइ छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालले प्रश्नपत्र आउटबारे प्रमुख जिल्लाधिकारीसँग छानबिन समिति गठन गर्नुपर्ने भन्ने कुरा भएको बताए ।
एसईईकै क्रममा महोत्तरीको औरह गाउँपालिका-२ स्थित श्री प्रसाद सिंह माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बाहिरबाट चिट चोरी गराइरहेको भिडियो बाहिरिएको छ ।
यस्तै रौतहटको मौलापुर नगरपालिका- ६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा बाहिरबाट परीक्षार्थीलाई चिट दिइरहेको भिडियो भाइरल छ । विगतमा पनि यस्तो गतिविधि मधेशका जिल्लामा हुने गर्थे । यसपटक पनि त्यही रोग देखिँएको छ ।
सर्लाहीका दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई अमर्यादित क्रियाकलापमा संलग्न भएको आरोपमा निष्काशित गरिएको छ । शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका–४ मा रहेको
रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिब जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई निष्काशित गरिएको छ । चिट चोरी गराइरहेको आरोपमा उनीहरूलाई निष्काशन गरिएको जनाइएको छ ।
मधेश प्रदेशमा आठ जिल्लाबाट ८८ हजार ८५८ परीक्षार्थी एसइई परीक्षामा सामेल भएका छन् । जसको लागि आठ जिल्लामा ३१२ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ । यस्तै ४५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र एक हजार ६६६ कार्यालय सहयोगी खटाइएको छ ।
सबभन्दा बढी धनुषाबाट १३ हजार ६५४ र सबभन्दा कम सप्तरीबाट ८ हजार ७१५ परीक्षार्थी एसईईमा सहभागी भएको शिक्षा विकाश निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।