काठमाडौंको रामकोटमा बेहोसीकाे अवश्थामा भेटिएका एकै परिवारका ५ जनामध्ये एक जनाको मृत्यु

काठमाडौँ, २४ फागुन – काठमाडौंको रामकोटमा सोमबार साँझ बेहोस भेटिएका एकै परिवारका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने अन्य चार जनाको अझै होस् खुलेको छैन।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ सदस्य विषादी खाएर बेहोस भएको अवस्थामा फेला परेका हुन्। एसपी मैनालीका अनुसार काठमाडौं महानगरपालिका–१५ डल्लु स्थायी घर भएका उनीहरूले खाएको विषादीको नाम भने खुल्न सकेको छैन।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त (स्वयम्भू) र महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली पुगेर उनीहरूलाई मनमोहन मेमोरियल अस्पताल (स्वयम्भू) लगेको थियो। तर तीमध्ये वर्ष ३३ का सुर्वणमान प्रधानलाई भने चिकित्सकले सोमबार साँझ साढे ८ बजे मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ।

अन्य चार जनाको भने उपचार जारी छ। एसपी मैनालीका अनुसार वर्ष ६२ की इन्दिरामाया प्रधान, वर्ष ३८ का भीममान प्रधान, वर्ष ३५ की मन्दिरा प्रधान र वर्ष ११ की सुप्रिया प्रधानको उपचार भइरहेको हो।

तर उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए। पाँचै जना भित्रबाट ढोका बन्द गरिएको अवस्थामा बेहोस भेटिएका थिए। विषादी खानुको कारण तथा समय नखुलेको र घटना सम्बन्धमा प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको एसपी मैनालीले जानकारी दिए।

Facebook Comments Box