उपकरण अभावले सुरक्षाकर्मीलाई काम गर्न कठिन

सुनसरी, १५ माघ – जिल्लामा लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेनगरेको पत्ता लगाउन उपकरण अभावमा सुरक्षाकर्मीलाई काम गर्न कठिन भएको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जिल्लामा लापसे र मापसे गर्नेलाई कारवाही गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ट्राफिक प्रहरी र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले नियमित चाँज गरिरहेको बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि पुससम्म मापसे गरी सवारीसाधन चलाउने सात सय ३२ जना र लापसे गरी सवारीसाधन चलाउने ४३ जनालाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । सो अवधिमा लापसे र मापसे गरी सवारीसाधन चलाउँदा नौ सवारी दुर्घटना भएका थिए ।

“अधिकांशले भारतीय सीमा क्षेत्रमा गएर लापसे र मापसे गर्ने गरेको पाइएको छ”, प्रहरी उपरीक्षक तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार सो अवधिमा लापसे र मापसे गरेका व्यक्तिबाट रु चार लाखभन्दा बढी राजस्व असुली गरिएको छ । “लापसे र मापसे गर्नेलाई निरुत्साहित गर्न सचेतना अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box