रोल्पा जिप दुर्घटमा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर

काठमाडौँ, १८ असार – रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको जिप्रका रोल्पाका सूचना अधिकारी इन्सपेक्टर रोहितकुमार शाहीले जानकारी दिए। एक जना बालिकाको भने सनाखत हुन सकेको छैन।

शाहीका अनुसार मृत्यु हुनेमा रोल्पाकाे माडी गाउँपालिका- ३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँकी ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीय जुनमाया खड्का, रोल्पाकै परिवर्तन गाउँपालिका- २ का ३१ वर्षीया रामकली पुन, माडी गाउँपालिका- ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी छन्।

‘दुर्घटनामा ज्यान गुमाउने झण्डै १८ महिने बालिकाको सनाखत हुन सकेको छैन। उनी दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशंका गरिएको छ,’ इन्सपेक्टर शाहीले भने। घाइते ८ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन्। ‘गम्भीर अवस्थाका ६ जनालाई भने थप उपचारको लागि राति नै बुटवल लगिएको छ,’ शाहीले भने।

रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ ६ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको शाहीले बताए।

सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हाे। चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको यात्रुहरुले बताएका छन्। दुर्घटनामा ज्यान गुमाउने केही एकाघरमा सदस्यसमेत रहेका अनुमान प्रहरीले गरेको छ। तर, उनीहरुबीचको नातासम्बन्ध भने नखुलेको इन्सपेक्टर शाहीले बताए।

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको हो। जिपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा जिपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ। जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर ज्यान जोगाएकी थिइन्। उनले गाउँले गुहारेपछि घाइतेको तत्काल उद्धार गरिएको थियो।

 

Facebook Comments Box