कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति
काठमाडौँ, १८ असार – कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ। संसद्का दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधन गर्ने मुख्य एजेन्डासहित सहमति गरेपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ।
एक महिनायताका पटकपटकका छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दुई दलबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन्।
उनीहरुबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ। स्रोतका अनुसार कांग्रेस र एमालेले संविधान संशोधन गरेर मुख्यरुपमा संविधानको समानुपातिक निर्वाचन प्रणाली हटाउन चाहेका छन्। दुई दलबीच आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने सहमति भएको छ।