इलाम–२ को शनिबार भएको उपचुनावको मतगणना जारी, सुहाङ नेम्वाङले अग्रता लिए

काठमाडौं,१६ वैशाख – इलाम–२ को शनिबार भएको उपचुनावको मतगणना जारी छ। फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्। उनले ३ सय ४५ मतको अग्रता बनाएका हुन्।

सो गाउँपालिकाको २ र ३ वडामा उनी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा पछि थिए। तर, ४ नम्बर वडा कांग्रेसको गढका रुपमा लिएका थिए। २०७९ मंसिरको चुनावमा यिनै खड्काले सो वडाबाट १०१९ मत ल्याएर अग्रता लिएका थिए।

जबकि एमालेका सुवास नेम्वाङले ८६८ मत मात्रै पाए। तर, यो पटकको उपचुनावमा कांग्रेसले त्यतिबेलाको भोट जोगाउन सकेन। सुवासकै छोरा सुहाङले यही वडाबाट लगभग ३ सय बढी मत आफ्नो पक्षमा पारेर अग्रता फराकिलो बनाउँदै लगेका छन्।

कांग्रेसले १७ महिना अघि लिड गरेको वडाबाट अहिले भने पछि पर्न परेको छ। खड्काले यो वडाबाट जम्मा ५३९ मत मात्र पाएका छन्। एमालेले इलाम नगरपालिकामा कम भोट पाउने आकलन गरेको छ।

फाकफोकथुमको वडा नम्बर ४ बाट आएको यो मतले इलाम नगरपालिकामा कांग्रेससँगको प्रतिस्पर्धा मेकअप गर्न सहज बन्ने भएको छ।

Facebook Comments Box