उपनिर्वाचन : इलाममा एमालेका नेम्बाङको अग्रता कायमै, बझाङमा कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

काठमाडौं, १७ वैशाख – इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले सात हजार ६ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गर्नुभएको छ । हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ ।

सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तैगरि बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिनुभएको छ । उहाँले सात हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार एक दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

Facebook Comments Box