डढेलो निभाउने क्रममा भिरबाट लड्दा एक जनाको मृत्यु, एकजना घाइते
गुल्मी, ४ वैशाख – गुल्मीमा डढेलो निभाउने क्रममा भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर- १ का ५८ वर्षीय महले घर्तीको घर नजिकै जंगलमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सोमबार स्थानीय सर्वोदय मावि नजिकै सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर घर्ती गम्भीर घाइते भएका थिए। भिरबाट झण्डै डेढसय मिटर तल खसेका घर्तीलाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल तम्घास पुर्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
घर्तीसँगै भिरबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन्। थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डढेलो निभाउने क्रममा हावा चल्दा आगोको लप्का आफूतिरै सोझिएपछि घर्ती र थापा भाग्ने क्रममा भिरबाट खसेका स्थानीयले बताएका छन्।