कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिह्न गाई नपाउने

काठमाडौं, २१ भदौ – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि प्रयोग गरेको चुनाव चिह्न गाई गुमाएको छ। उक्त पार्टीका अध्यक्ष थापाले गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटलाई सर्वोच्चले मंगलबार खारेज गरिदिएको छ।

गाई चुनाव चिह्नमाथिको थापाको दाबी खारेज भएसँगै अब आयोगले दिएको तीर चुनाव चिह्नबाटै राप्रपा नेपाल चुनावमा जानुपर्ने भएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाद्वारा दर्ता रिट मंगलबार खारेज गरेको हो।

यो रिट खारेजीसँगै अब निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाई अघि बढाउने भएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिइसकेको छ। तर त्यसविरुद्ध थापा अदालत गएका थिए।

Facebook Comments Box