आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना
काठमाडौं , १९ माघ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ। शुक्रबार दिउँसो कोसी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

