तराई मधेशका अधिकांश भूभागमा हुस्सु र कुहिरो

काठमाडौँ, २५ पुस – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहेन छ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। आज तीन प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ।

भोलि (बिहीबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। तराई मधेशका भूभागमा हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ। हुस्सु कुहिरोले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Facebook Comments Box