एक करोड ४८ लाख रुपैयाँ बिगो र जरिवानासहित भुपराज कोइराला दोषी ठहर
काठमाडौं , ११ पुस – नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीविरुद्धको मुद्दामा ५४ लाख ८४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ।
न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यससघि कसुर ठहर गरेको मुद्दामा बुधबार सजाय तय गरेको हो। विशेषले नेपाल बैंकलाई बिगो भर्नुपर्ने गरी फैसला गरेको छ। दोषी ठहर कोइरालाले बिगो र जरिवानासहित एक करोड ४८ लाख रुपैयाँ तिर्नुपर्ने छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागे अनुसार कोइरालाविरुद्ध बिगो र जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। कोइराला गत मंसिर २१ मा भ्रष्टाचारी ठहर भएका थिए। बुधबारको इजलासमा सजाय निर्धारणका लागि पेशी चढाइएको थियो।
कोइरालालाई बैंकको सिस्टम ह्याकिङ र जम्मा गर्नुपर्ने व्याज व्यक्तिगत खातामा राखेर भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो। कोइरालाविरुद्ध भ्रष्टाचार आरोपमा २०७७ असार ३१ गते मुद्दा दायर भएको थियो।
कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत अरुले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर दुरुपयोग गरेका थिए। त्यसक्रममा उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न व्यक्तिगत खातामा जम्मा गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको अनुसन्धानबाट भएको थियो।

