शुक्रबारदेखि काठमाडौंमा हुने नेपाल सुपर लिग एनएसएलको तयारी पूरा

काठमाडौँ, ६ मङ्सिर – शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलको तयारी पूरा भएको छ । आज बुधबार बेलुकी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको घोषणा गरेका हुन् ।

‘अब हामी दुई दिन टाढा छौँ एनएसएलबाट, सबै तयारी भइसकेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशी खेलाडीहरु आइसकेका छन् । केही विग नेम छन् । विदेशी कोच छन् । आइकोनिक क्याटेगोरी छन् । त्यमसा पालयन भइसकका खेलाडीहरु पनि फर्किएका छन् ।’

कोरोना भाइरस संक्रमणका कारण पहिलो सिजन दर्शकको उपस्थिति बिना प्रतियोगिता भएको थियो । यस पटक स्टेडियममा दर्शक उपस्थित हुने छन् । दर्शकको मनोरञ्जनका लागि स्टेडियमा डीजे र चियर लिडरलाई पनि एनएसएलमा समावेश गराउने कार्कीले बताए ।

प्रतियोगिताको उद्घाटन समारोहमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्देन शेर्पाले मनोरञ्जनात्मक प्रस्तुति दिने छन् । लेजेण्ड फुटबलर डिडियर ड्रोग्बा पनि एनएसएलका बेला काठमाडौं आउने भएकाले धेरै समर्थक उत्साहित रहेको कार्कीले बताए ।

पारिवारिक कारणले ड्रोग्बाको नेपाल आउने मिति तय नभए पनि उनी प्रतियोगिताकै बीचमा नेपाल आउने कार्कीले जानकारी दिए । एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ ।

टिकेटिङ पार्टनरका रुपमा आईएमई पे छ । ९ टिम सहभागी यो प्रतियोगिताका खेलहरु दशरथ रंगशालामा हुने छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् ।

Facebook Comments Box