श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा भारतलाई ३–१ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौं, २४ भदौ – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ। भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ।
शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गर्दै समूह विजेता बनेको हो। नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरे। खेलको पहिलो हाफमा एक एक गोल भएको थियो। तर दोस्रो हाफमा नेपालले २ गोल थपेको हो।
समूह चरणमा नेपाल समुह विजेता र भारत उपविजेता बनेका छन् समूह चरणका दुवै खेलमा पराजित भुटान अंकविहीन हुँदै च्याम्पियनसिपबाट बाहिरिएको छ। खेलको २५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा अग्रता बनाएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा सरोजले बराबरी गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४९ औँ मिनेटमा युनेशले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ६७ औं मिनेटमा सुवासले गोल थप्दै अग्रता फराकिलो पारे। नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले तथा भारतले ३–० ले पराजित गरेको थियो।

