नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब ६४ अर्ब ३३ करोड
काठमाडौँ, १० असोज – आर्थिक वर्ष २०७८/७९ सम्म नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब ६४ अर्ब ३३ करोड पुगेको छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी रहेका ६९४ कम्पनीमध्ये २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वोक्षण भएको हो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भएको ठुला ४८, मझौला ३० र साना ६१२ कम्पनी छन् । सन् २०२०/२१ सम्म जसको कुल पूँजीको आकार करिब २ खर्ब २७ अर्ब ५९ करोड रहेको छ ।
नेपालमा कुल ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । ‘२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रहेको देखिन्छ,’ सर्वेक्षणमा भनिएको छ, ‘चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्याण्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।’
सन् २०२२ मा विश्वभरी कुल १२ खर्ब ९५ अर्ब अमेरीकी डलर प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये विकशित अर्थतन्त्र भएको मुलुकमा ३ खर्ब ७८ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी हुँदा विकासशलि राष्ट्रहरुमा ९ खर्ब १६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
विश्वभरको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये करिब ६ खर्ब ६२ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी एशियामा मात्रै रहेको छ । एशियामा पनि सबैभन्दा धेरै चीनमा १ खर्ब ८९ अर्ब डलर, सिंगापुरमा १ खर्ब ४१ डलर र हङकङमा १ खर्ब १८ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।
दक्षिण एशियाली देशमा करिब ५६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आउँदा नेपालले भने त्यसबाट लाभ लिन सकेको छैन । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता र लगानी आउँदा ठूलो अन्तर हुने गरेको विगत देखिकै तथ्यांकले देखाउँछ ।
सन् १९९५/९६ देखि सन् २०२१/२२ सम्म नेपालमा स्वीकृत भएको ३६.२ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । दक्षिण एशियामा सन् २०२२ मा करिब ५६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आउँदा भारतमा मात्रै ४९ अर्ब ४० करोड डलर रहेको छ ।
यस्तै बंगलादेशमा ३ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी आउँदा पाकिस्तानमा १ अर्ब ३० करोड डलर, श्रीलंकमा ९० करोड डलर, माल्दिभ्समा ७० करोड डलर र नेपालमा १० करोड डलर मात्रै प्रत्यक्ष वैदेशिक लगानी आएको छ । यस्तै भुटानमा १ करोड डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

