कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, १३ भदौ – मनसुनको न्यून चापीय रेखा नेपालबाट केही टाढा भएकाले कम्तीमा ३ दिन मौसम बदली र वर्षा उल्लेख्य मात्रामा नहुने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी शुक्रबारसम्म देशभर कतै भारी वर्षाको सम्भावना छैन।

‘आज बिहानसम्मको अनुमानअनुसार तीन दिनलाई कतै भारी वर्षाको सम्भावना देखिएको छैन’, उनले भने, ‘तर भरे भोलिसम्ममा फरक संकेत देखियो भने बेग्लै कुरा।’ मौसमविद् अधिकारीका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। यसअघि यो रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपाल नजिक थियो।

‘अहिले केही दक्षिण अर्थात् नेपालबाट केही टाढा भएको हो’, उनले भने, ‘यसका कारण पनि वर्षा कम हुन्छ, तर वर्षा हुने कारण अन्य पनि हुन्छन्।’ मौसम महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सामान्य बदली र अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box