भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर, २ भदौ – भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले क्रिटिकल केयर (आइसियु, सिसियु, पिआइसियु, एनआइसियु), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताउनुभयो । अस्पतालमा हाल छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ ।

भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो ।

Facebook Comments Box