आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने

काठमाडौँ, ३ जेठ – आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए ।

उनले भने, ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’ केही दिन अघि भारत बिहार आसपासको न्यूनचापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर वर्षा भएको थियो ।

सो वर्षाका कारण तापक्रम घट्दा केही शीतल महसुस भएको थियो । बिहार आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालबाट पूर्णरुपमा हटिसकेको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ । त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ ।

तर तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिँदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविदले गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् मौसमविद डा. विनोद पोखेरलले आगामी चार दिनसम्म देशभैर गर्मी बढ्ने र तराई मधेशका जिल्लामा तातो हावाको लहर अर्थात् लु चल्नसक्ने सम्भावना औंल्याएका छन् ।

वरिष्ठ मौसमविद प्रधानाङ्ग लगातार गर्मी बढ्दा लु चल्ने बताउँछन् । अहिले नै लु चल्ने भनेर भविष्यवाणी भने नगर्ने उनले बताए । ‘हामीले त्यसलाई नियालिरहेका छौं, लु चल्यो भने बुलेटिनमार्फत् जानकारी दिन्छौं ।’ धनगढी, नेपालगञ्ज, जनकपुर लगायत तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्यस आसपाससम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो ।

Facebook Comments Box