संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बिहान ८ बजे बस्दै

काठमाडौँ, १६ जेठ – संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज (मंगलबार) बिहान ८ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षको समेत सम्बोधन रहने बताइएको छ। १५ सदस्य रहेको सुनुवाइ समितिले आइतबार पूर्णता पाएको हो।समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपा १, राप्रपा १, र जसपा १ सांसदको प्रतिनिधित्व रहेको छ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा छन्। बाँकी १२ सदस्य प्रतिनिधिसभाबाट मनोनित गरिएको छ। जसमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।

त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य रहेका छन्।

Facebook Comments Box