नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्भाव बिग्रन नदिन सबै क्षेत्र र तप्काको सद्भाव र्याली निकालिने
काठमाडौँ, १७ असोज – नेपालगञ्जमा दुई धार्मिक समुदायबीच तनाव भएपछि जिल्लामा सद्भाव बिग्रन नदिन सबै क्षेत्र र तप्काको सद्भाव र्याली निकालिने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सामाजिक सद्भाव बिग्रन नदिन तीन बुँदे निर्णय गरेको प्रशासनले जनाएको छ। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कानून विपरितका कार्यहरु गर्ने कुनै पनि व्यक्तिहरुलाई तत्काल कानून बमोजिम कडा कारबाही गर्ने सर्बदलीय बैठकले निर्णय गरेको छ।
यस्तै, शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने र नेपालगञ्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्यू आदेश क्रमशः खुकुलो बनाउँदै लगी पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी सामाजिक सद्भाव कायम राख्न र अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिवद्धताका गर्ने, साथ सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली आयोजना गर्ने बुधबार बसेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।
नेपालगञ्जमा हिन्दु र मुश्लिम धर्मावलम्बीबीच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। कर्फ्यूकै बीचमा भएको झडपमा परी सुरक्षाकर्मीसहित केही व्यक्तिहरु घाइतेसमेत भएका छन्।