सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ, २६ चैत – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ। निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेसी स्थगित हुँदै आएको छ।

जिल्ला अदालत काठमाडौंमा आइतबार अन्तिम सुनुवाइको पेसी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। यसअघि किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो। अन्तिम फैसलाबाटै मुद्दा किनार लगाउनुपर्ने भन्दै तत्काल अन्तरिम राहत दिननपर्ने आदेश जिल्ला अदालतले दिएको थियो।

यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ। लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।

उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो। पछिल्लो समय बुधबार केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा पेसी स्थगित भएको थियो।

Facebook Comments Box