आज काठमाडौँ उपत्यकालगायत देशका पहाडी भेगमा वर्षा हुने सम्भावना
काठमाडौँ, २१ चैत – आज काठमाडौँ उपत्यकालगायत देशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।
‘आज सुदूरपश्चिम प्रदेशका थोरै स्थान, पोखरा, काठमाडौँ, ओखलढुंगासहित देशभरकै पहाडी भेगका थोरै स्थानमा पानी पर्ने सम्भावना छ’, मौसमविद् झाले भने। आज अपराह्नतिर काठमाडौँमा पनि क्षणिक वर्षा हुने सम्भावना छ। ‘तर पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र छ’, उनले भने।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

