आज देशभर घगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १७ चैत – देशभर मौसम बदली भएको छ भने सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली भएको छ भने गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा चाहिँ सामान्यदेखि आंशिक सम्म बदलीको अवस्था छ। ‘सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने बिहानैदेखि वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। मौसमविद् नगरकोटीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।
महाशाखाको अनुसार राति देशभर मौसम सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसमविद् नगरकोटीका अनुसार मेघगर्जन र चट्याङसँगै हल्का हावाहुरी त चलिहाल्छ। तर आज रातिलाई कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरीको अलि बढी सम्भावना छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

