आज देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ, १२ चैत – आजपनि देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार देशका बाँकी पहाडी भेगका एक दुई स्थान भन्नाले गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशका पहाडी भेगका जुनसुकै एक दुई ठाउँमा पानी पर्नसक्छ भनिएको हो।  ‘आज तुलनात्मक रूपमा चाहिँ काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम छ’, मौसमविद् अधिकारीले भने, ‘तर पनि अपराह्नतिर क्षणिक वर्षा हुनसक्छ।’

उनका अनुसार अचेलकाे वर्षाको प्रकृति मेघगर्जन/चट्याङसहितको हुन्छ। वर्षाको सम्भावना भएका स्थानबाहेक आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यसबाहेक राति कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

 

Facebook Comments Box