रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी समूहबीच झडप, खुकुरी बोकेरै छिरे विद्यार्थी
काठमाडौँ, २७ फागुन – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी समूहबीच झडप भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि झडपको रुप लिएको हो।
प्रत्यक्षदर्शीका अनुसार एकीकृत नेकपा समाजवादीनिकट अनेरास्ववियूका विद्यार्थीहरु नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरु आक्रमणमा उत्रिएका हुन्। अनेरास्ववियुले अर्को अनेरास्ववियूका कार्यकर्तारुले खुकुरी हानेको आरोप लगाएको छ।
उक्त घटनाका क्रममा तीनजना विद्यार्थी घाइते भएका छन्। अनेरास्ववियुका आरआर क्याम्पस इकाई अध्यक्ष लोकेश खड्काले तीन साथीहरु घाइते भएको बताएका छन्। उनका अनुसार विवेक गैरे, राज न्यौपाने र अनिल बोहरालाई चोट लागेको छ।
बोहोराले समाजवादीका विद्यार्थीहरुले खुकुरी बोकेर आक्रमण गर्न खोजेपछि प्रतिकारमा उत्रिनु परेको बताए। उता अनेरास्वियूले भने एमालेनिकट अनेरास्ववियुले निर्वाचन अधिकृतसँग मिलेर फर्जी विद्यार्थी भर्ना गरेपछि विरोधमा उत्रिनुपरेको जनाएको छ।
विद्यार्थीहरुबीच खुकुरी खोसाखोस र झडप भएपछि अहिले प्रदर्शनीमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। झडपपछि तनाव हुँदा यातायात सञ्चाल पनि रोकिएको छ।

