बाढीले क्षति पुर्याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार त्रिशूली करिडोरमा रहेका ती पुल मर्मतपछि सञ्चालनमा ल्याइएको हो। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार १८ पुलमध्ये ११ वटामा बाढीले बढी क्षति पुर्याएको थियो। ती पुलका लट्ठा बटारिने, डेक तथा बिम बगाउने र छेउका जालीमा क्षति पुग्ने समस्या देखिएको थियो। बाँकी सातवटा पुलमा भने सामान्य क्षति पुगेको थियो। बढी क्षति भएका पुलका लट्ठा सोझ्याउने, ह्यान्डरेलका केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र छेउका जाली राख्ने काम गरिएको छ। अन्य पुलको सामान्य मर्मतपछि सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
मर्मत गरिएका पुलहरू नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लालाई जोड्ने विभिन्न नदी तथा खोलामा रहेका छन्। ती पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। बाढीले पुलमा क्षति पुर्याएपछि प्रभावित बनेको स्थानीय आवागमनलाई सहज बनाउन मर्मत कार्य गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ।

