रास्वपाले दिएको अल्टिमेटम सकियो, बैठक बसेर निर्णय लिने तयारी

काठमाडौँ, २१ माघ – गृह मन्त्रालय पाउनुपर्ने मागसहित २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक छलफल जारी राखेको छ। बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो।

सो समयसीमा आजबाट सकिँदैछ। त्यसअघि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डोलप्रसाद अर्यालका अनुसार आजै बैठक बसेर निर्णय लिने सम्भावना छ।

‘हामी आन्तरिक छलफलमा छौं। सभापतिजीले एजेण्डा लगायतका विषयमा कुरा गरिरहनुभएको छ’, अर्यालले भने, ‘आजै बैठक बसेर निर्णय लिने सम्भावना छ।’ यसअघि शनिबार बिहानमात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो।

उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली रविलाई नै गृहमा पुर्नवहाली गर्न जोड दिइरहेका छन्। तर, सर्वोच्चको पूर्णपाठ नआइसकेको र पासर्पोटको विवाद पनि कायमै रहेकाले अहिले रविलाई गृह दिन नहुने प्रचण्डसहित माओवादी नेताहरू बताउँछन्।

आजको बैठकमा पनि यो विषयमा कुरा उठेको थियो। ‘सत्ता बचाउनेगरी कुनैपनि अनावश्यक सम्झौता नगर्न हामीले अध्यक्षलाई भनेका छौं’, माओवादी बैठकमा सहभागी एक नेताले भने।

उता, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले भने अहिलेसम्म कुनै उल्लेख्य प्रगति नभएको बताए। प्रधानमन्त्री प्रचण्डले दिउँसो पार्टी बैठकबाट निस्कँदैगर्दा रास्वपासँग आफ्नो छलफल भइरहेको र समस्या समाधान हुने बताएका थिए।

 

Facebook Comments Box