प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार सात दलका शीर्ष नेताहरुको बैठक सुरु
काठमाडौँ, २ माघ –प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार सात दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिने योजनासहित बैठक सुरु भएको हो। सत्ता साझेदार दलका नेताहरु सम्भावित मन्त्रीहरुको नाम गोजीमा लिएर बालुवाटार पुगेका हुन्।
सोमबार मात्रै सत्ता साझेदार नेताहरु केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा ५ घण्टा लामो वार्ता भएको थियो। १० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।
बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो। सोमबार बालकोटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गरेका थिए।मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ओलीसँग ५ घण्टा बढी छलफल गरेपछि प्रचण्डले मन्त्रिमण्डलले पूर्ण पाउने बताएका थिए।

