मीना देउवाको ह्याट्रिकमा श्रीलंकामाथि ७-० को फराकिलो जित
बंगलादेश, ३२ असार — बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि ७-० को फराकिलो जित हासिल गरेको छ। भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला सुरु भएको खेलमा नेपालका लागि मिना देउवाले ह्याट्रिक गरेकी छिन्। साथै पूर्णिमा राईले दुई गोल गर्दै टिमलाई महत्वपूर्ण योगदान दिइन् भने समिक्षा मगर र सरिता कुमारीले समान १-१ गोल गरे।
खेलको आठौं मिनेटमा मीनाले डिबक्स बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् भने १३औं मिनेटमा समिक्षाले अग्रता दोब्बर पारिन्। पहिलो हाफमा नेपालले पाँच गोल गरिसकेको थियो। ४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् र इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल थपेर नेपाललाई ७-० को जिततर्फ डोर्याइन।
खेलको दोस्रो हाफमा नेपालले दुई गोल थप्यो, जसमा ७०औं मिनेटमा मीनाले आफ्नो ह्याट्रिक पूरा गरिन् र सरिता कुमारीले फ्रिकिकबाट गोल गर्दै स्कोरलाई ७-० बनाइन्। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। प्रतियोगितामा बंगलादेश तीन खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ६ अंक जोडेको छ।
तेस्रो स्थानमा भुटान ३ अंकका साथ छ। यस च्याम्पियनसिपमा चार टोलीहरूले डबल राउण्ड रोबिन फार्म्याटमा प्रतिस्पर्धा गरिरहेका छन् र सबैभन्दा बढी अंक जोड्ने टोलीलाई विजेता घोषणा गरिनेछ।

